


काठमाडौं,३१ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुशी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ।
उनीहरुले बैंकमा निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुशी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ।
उनीहरुले पाँच करोड ३५ लाख ६४ हजार दुई सय ७९ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग रहेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

