
भैरहवा,१ जेठ। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई महिलामैत्री शहर बनाउनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। महिलामैत्री बनाउनका लागि युनोप्सले पालिकालाई छनोट गरेको थियो ।
समुदायमा आधारित महिलामैत्री शहर बनाउने अवधारणा अनुसार परियोजनाले पालिकाको दुईवटा वडामा पूर्वाधार निर्माणबारे समुदायसँग छलफल र सम्भाव्यता अध्ययन गरेको छ।
Advertisement
Advertisement
Advertisement

पालिकाको वडा नम्बर ४ सिमानगरमा र वडा नम्बर ९ को मंगलापुरमा हाटबजारसहित महिलामैत्री आराम गृह, शौचालय, बालबालिकाको खेल्ने स्थान, सबैको पहुँचयोग्य पैदल लेन, बगैंचा आदि निर्माण हुनेछ। उक्त स्थानमा महिलाले उत्पादन गरेर विक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका लागि स्टल समेत निर्माण गरिने परियोजनाका कार्यक्रम विशेषज्ञ निलम धनुषेले बताइन्।
उनका अनुसार जुन स्थानमा उक्त पूर्वाधार बनाइन्छ, त्यसका लागि समुदायका महिला, पुरुष, युवा र बालबालिकासँग छलफल गरी उनीहरुले चाहेको पूर्व नक्शांकनमा आधारित संरचना बन्छ। ‘प्राविधिक, जलवायुका हिसाबले के हुन्छ भन्ने सम्भावना हामीले हेर्छौं, उनले भनिन्–‘यसमा ३० प्रतिशत पालिकाको लगानी हुने भएकाले समुदायका मानिसको सहभागीता अनिवार्य रहन्छ। उक्त प्रक्रियामा वडामा रहेको खुला स्थान पहिचान गरी त्यसमा संरचना बनाउन उपयुक्त छ वा छैन भन्ने अध्ययन गरिन्छ, त्यसपश्चात एक चरणको सामुदायिक नक्शा कोरेर प्राविधिक रुपमा त्यसलाई नक्शांकन गरी पूर्वाधार बनाइन्छ।
परियोजनाले समतामस्लक महिलामैत्री, लैंगिकमैत्री तिलोत्तमा नगर बनाउन सहयोग पुग्ने नग प्रमुख रामकृष्ण खाणले बताए। उनले देशभरीबाट तिलोत्तमालाई पनि छनोटमा पारेर परियोजनाले पूर्वाधार निर्माण गरिदिने कार्य खुसीयोग्य भएकाले यसमा नगरपालिकाले लगानी गर्न र युनोप्ससँग साझेदारी भूमिका खेल्न तयार रहेको जनाए। उनले यो साझेदारीले नेपालमा लैंगिक समानता र महिला सशक्तिकरणका लागि नयाँ मिसाल कायम गर्ने अपेक्षा गरेको बताए
यस परियोजनाका लागि ३ वर्ष समय अवधि तोकिएको छ । पहिलो चरणको काम सफल भए अन्य वडामा समेत नक्शांकन गरिने युनोप्सका आर्किटेक्ट मनिषा कार्कीले जनाइन्। यो पहल महिला, बालबालिका तथा सामाजिक रूपले पिछडिएका समुदायका लागि सुरक्षित, समावेशी र सुविधाजनक नगरपालिका निर्माण गर्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।

