


काठमाडौं,१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्।
बिहीवार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हुन्। उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए।

उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ काँग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग पद हस्तान्तरण गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘कतिपय योग्य मान्छे यसमा आउनै नपाएर बाहिरै बसेका छन्। मौका पाएका छैनन्। कसैले पटक पटक पाउँछन्। अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ। के गर्नु ? अब फेरि जुर्नेवाला छ। मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग पद हस्तान्तरण गर्छु।’
प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए।

