


भैरहवा,२ जेठ। रुपन्देहीको भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता हुने भएको छ। आइतबारबाट हुने रुपन्देही क्षेत्र नम्बर ३ (१) अन्तरगतको क्रिकेट प्रतियोगितामा १८ वटा वडा, कर्मचारी र पत्रकार गरी २० वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगीता बारे जानकारी दिने उद्देश्यले शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले संचालन हुने प्रतियोगितामा टेनिस बलले १० ओभरको खेल खेलाइने बताए।

उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन्। भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिता जेठ ४ गते देखि जेठ ७ गतेसम्म संचालन हुनेछ।
रुपन्देही क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले खेलाडी उत्पादनसंगै युवाहरुलाइ दुर्व्यसनबाट जोगाउनको लागि प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले खेल पर्यटनबाट यो क्षेत्रको विकास गर्न सकिने सोच सहित प्रतियोगिताको आयोजना गरिएको बताए।
प्रदेशको उपस्थिति देखाउनका लागि भए पनि खेलको आयोजना गरिएको उनको भनाई छ। नेपालका खेलाडीहरु माथी राज्यले कम लगानी गरे पनि यो क्षेत्रमा खेलाडी उत्पादन राम्रो रहेकोले यो प्रतियोगिताले अझै सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
रुपन्देही क्रीकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बोलेका थिए। कार्यक्रमको संचालनका जैनुद्दिन देवानले गरेका थिए ।

