


पोखरा,४जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा उच्च अदालत पोखराले मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।
अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले कास्की जिल्ला अदालतमा पेश भएको मिसिल प्रमाण झिकाउने आदेश जारी गरेको हो ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको थियो।
गत पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश गरेको थियो। सरकारी वकिलले प्रतिवादी लामिछानेलाई थुनामा राख्नुपर्ने र लामिछानेले आफू साधरण तारिखमा रिहा हुनुपर्ने माग गर्दै अदालतको उक्त आदेशको खारेजीको माग गर्दै दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए।
दुवै निवेदनमाथि उच्च अदालत पोखरामा बिहीबारबाट सुनुवाइ सुरु भएको थियो ।

