

भैरहवा,९जेठ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा रुपन्देही जिल्लाले सहज जित निकालेको छ। नवलपरासी जिल्लालाई २ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर ३ बलमा अलआउट हुँदै ३ सय १६ रनको उच्च योगफल बनायो। उसका लागि समीर अली मुसलमानले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय १८ रनको शतकीय पारी खेले। यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन बनाए। बलिङमा नवलपरासीका प्रेमसागर यादवले ४, विष्णु ठठेर र सागर पाण्डेले २–२ तथा आर्यन अलीले १ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement
जवाफी ब्याटिङ गरेको नवलपरासी १६ ओभरमा अलआउट हुँदै ४५ रनमै समेटिन पुग्यो। उसका लागि प्रेमसागर यादवले १३ र आरोनजंग गिरीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा रुपन्देहीका लक्ष्मण कुमाल, प्रिन्स पाल र तुसार चौहानले समान २–२ तथा सोइब हसन मुसलमान र सुप्रिम कंडेलले १–१ विकेट लिए। खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।
राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन्। प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन्। जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा चल्नेछ ।
प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, खेल संयोजक प्रथम पराजुली लगायतले बोल्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।





