

काठमाडौं,९जेठ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सरकारी कर्मचारीलाई ‘हनी ट्रयाप’ मा पारेको आरोपमा दुई जना युवतीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावारी नगरपालिका–१०, दमौराकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७, सल्लाघारीकी ३४ वर्षीया आँचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ।
यौन शोषणको मुद्दामा फसाईदिने भन्दै उनीहरुले एक सरकारी कर्मचारीलाई पीडित बनाएको आरोप छ। त्यसरी तत्काल पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाएको सूचनापछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
Advertisement

Advertisement
Advertisement
ममता काठमाडौंको कालोपुलमा र आँचल काठमाडौंकै हाँडीगाउँमा बसोबास गर्दै आएकी थिइन्। प्रहरीका अनुसार, सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले पीडित कर्मचारीसँगचिनजान र सम्बन्ध बढाएका थिए। त्यसपछि ठमेलस्थित एक होटेलमा बोलाएर खाजा र मादकपदार्थ सेवन गराएर अचेत अवस्थामा उनको अश्लील तस्वीर खिचेको र भिडियो बनाएका थिए।
फेसबुक मेसेन्जरमा उक्त तस्वीर र भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर र चार आना जग्गा दिनुपर्ने नत्र यौन शोषणको मुद्दामा फसाईदिने धम्की दिएका थिए। उनीहरुले मुद्दामा फसाईदिने धम्की दिएर पाँच लाखको चेक काट्न लगाएको प्रहरीले जनाएको छ।
एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका युवतीहरुको साथबाट मोबाइल दुई थान र आँचल चौगुठीका नाममा काटिएको प्राइम कमर्सियल बैंकको पाँच लाख रुपैयाँको एउटा चेक बरामद भएको छ। आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारवाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।





