


भैरहवा,११ जेठ। रुपन्देहीमा बिहीवारदेखि प्रदेशस्तरीय ‘सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट’ प्रतियोगिता हुने भएको छ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिले विभिन्न संस्था र कर्मचारीहरुबीच सु–सम्बन्ध र भातृत्व विकास, क्रिकेट खेलको प्रवद्र्धन लगायत उद्देश्यसहित अगामी जेठ १५ दखि १७ गते तीन दिनसम्म प्रतियोगिताको आयोजना गरेको हो।

समितिले आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा संचालन हुने प्रतियोगिता ‘डे’ र ‘नाइट’ दुवै समयमा खेलाइने जनाएको छ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका बैंक, वित्तीय संस्था, बिमा कम्पनी, नेपाल टेलिकम लगायत ३३ वटा टिमको सहभागीता रहने नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष एवं कार्यक्रम संयोजक दिपक गौतमले बताए। उक्त ३३ वटा टिमलाई ११ वटा समूह विभाजन गरिएको छ । प्रतियोगिता लिग र नकआउट दुवै फर्मेटमा खेलाइने उनले जनाए।
उनका अनुसार प्रतियोगिताका विजेता टोलीले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै म्यान अफ द सिरिजले ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र अनुशासित टिमले जनही ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन्।
सिद्धार्थ बैंक लिमिटेडको मुख्य प्रयोजन र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सह प्रायोजन आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशमा रहेका कर्पोरेट संस्थाका कर्मचारीहरुले सहभागी हुने सक्ने उनले बताए।
कर्मचारीको हकहितको पक्षमा वकालत गर्दै आएको आयोजक नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिले विगतदेखि नै अतिरिक्त क्रियाकलापहरु समेत गर्दै आएको छ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिका सचिव शिशिर शर्माको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक जिवन प्रकाश पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपक घिमिरे लगायतको उपस्थिति थियो।

