
महोत्तरी,१३जेठ। बर्दिबासमा १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन थालिएको छ। पुरातत्त्व विभागका विज्ञको टोलीले शनिबारदेखि बर्दीबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्त्विक अध्ययन थालेको हो।
प्राचीन मानव इतिहासमा प्रयोग भएका ढुङ्गे औजार सो क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्त्वलाई थप उजागर गर्न अध्ययन थालिएको बर्दीबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

उनले बर्दीबासमा पुरातात्त्विक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट प्रा.डा. मञ्जित हजारियाको नेतृत्वको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको बताए।
जर्मनीका अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८० को दशकमा तराईका विभिन्न भूभागमा मानव सभ्यताको अध्ययन गरी सन् २००७ मा ‘प्री हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक प्रकाशित पुस्तकमा महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्यपाषण युगमा हतियार निर्माण हुने स्थल उल्लेख छ।
लेखकले पुस्तकको भाग १, पृष्ठ २३९ मा अहिलेको राई मण्डल अर्थात् पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेका छन्।
रातोमाटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषण युगका हतियार भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको आफ्नो किताबमा उल्लेख गरेको पाइएको हो। मध्यपाषण १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १० हजार वर्षअघिको नवपाषणको अवधिलाई भनिन्छ। गुडन कार्विन्सले गरेको अध्ययन अनुसार यो ठाउँ १० हजार वर्षअघिको मध्यपाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ।
कर्विन्सले राई मन्डल आसपास र पाटुमा नै आएर किन अध्ययन गर्नुभयो होला भन्ने विषय अझै रहस्यमय छ तर विख्यात भूगर्भविद् कर्विन्सले गरेको अध्ययनपछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषण युगको हतियारचासोको विषय बनेको छ।
कर्विन्सले उक्त पुस्तकमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष पहिले अर्थात् मध्यपाषण युगमा मान्छेको बाक्लो चहलपहल रहेको उल्लेख गरेका छन्। गोरखापत्र दैनिकबाट

