
भैरहवा,१४जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देहीसँगै दाङ पनि फाइनलमा पुगेको छ।
बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको समूह ‘बी’ अन्र्तगत खेलमा दाङले बाँकेलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यसअघि रुपन्देही समूह ‘ए’ को फाइनल पुगिसकेको छ। यी दुई टीमबीच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।
Advertisement

Advertisement
Advertisement

टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनायो। उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रनको योगदान दिए। बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङका लागि फिल्डमा उत्रिएको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएर सहजै जित निकाल्यो। उसको जितमा शुभम खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुंवरले १६ र करण जीएमले १० रन बनाए। बलिङमा बाँकेका दिव्यान्स बर्माले ३ तथा निखिल धनकुट्टाले १ विकेट लिए। खेलमा दाङका शुभम खनाल प्लेयर अफ द म्याच घोषित भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।

