


नवलपुर,१६जेठ। वर्षायाम सुरु हुन लागेको छ । यस वर्ष देशमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। वर्षा सुरु भएसँगै बुटवल-नारायणघाट सडकखण्डको यात्रा कष्टपूर्ण हुने गर्दछ। सडक निर्माण कार्य वर्षौदेखि जारी छ । निर्माणधिन सडकका कारण घाममा धुलाम्मे र वर्षामा हिलाम्मे समस्या पनि यात्रुहरुले भोग्नै परेको छ। सडकखण्डको एकतर्फी अधिकतम दुरी सडक कालोपत्रे भएको छ।
सामान्य वर्षाले पनि सडक खण्डमा अन्र्तगत दाउन्ने ,दुम्किबासको बिनयी खोला र चोरमाराको गिरुबारी खोलामा बनेको डाइभर्सन बाढीले बगाउने गर्दा यात्रुहरुले समस्याले झेल्नु परेको छ।

बिनयी खोलामाथिको पुल भासिएको ४ महिना पुगे पनि हालसम्म मर्मत हुन सकेको छैन। चोरमाराको गिरुबारी खोलामाथिको पुल पनि मर्मत नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। वर्षा हुनासाथ दाउन्नेमा सडक चिप्लो भएर सवारी गुड्न सक्दैनन् ।
बिहीबार राति बाढीले दुम्कीवासको बिनयी खोलामा रहेको डाइभर्सन बगाएपछि राति २ बजेदेखि बिहान ९ बजेसम्म यात्रुहरु सडकमा नै अलपत्र परे। शुक्रबार बिहान ९ बजे पछि भने त्यहाँ रोकिएका साना र यात्रुबहाक गाडी होसी,सर्दी हुँदै पठाइएको प्रहरीले जानकारी दिएको छ।
नारायणघाट चोरमारा अरुण खोलाहुँदै महेन्द्रराजमार्गमा पर्ने होङ्सी सिमेन्ट उद्योगको गेटहुँदै उत्तर सर्दी पुगेर फेरी दुम्कीवासहुँदै वारपार गराइएको छ। उक्त बाटो हुँदै निस्कन २५ किलोमिटर लामो यात्रा गर्नुपर्छ। ठूलो, लामो लरी र मालबहाक गाडी भने महेन्द्र राजमार्ग रोकिएका छन् ।
दाउन्नेको खोर्साने खोला नजिकमा महेन्द्र राजमार्ग भासिएको छ। त्यहाँ सडक मर्मत गरेर बिहानदेखि यातायात सुचारु गरिएको छ। त्यस्तै चोरमारामा पनि गिरुवारी पुल नजिकबाट अस्थायी सडक निर्माण गरेर यातायात सुचारु गरिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी प्रमुख यादव ढकालले बिनयी खोलामा पानी सुकेपछि त्यहीमाथि फेरि डाइभर्सन बनाएर सडक यथावत् सञ्चालन गरिने बताए।

