
बुटवल, १७ जेठ। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको उद्घाटन गरिएको छ। रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यसप्रकारको दानमा जोडिन सबैमा आह्वान गरे। उनले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पारे।
Advertisement

Advertisement
Advertisement

निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानूनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि उनले बताए। ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ। निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ। सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ,’उनले भने।
लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उनको भनाई छ। ‘बिरामीहरुले अपरेसनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ। सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ,’ उनले भने।

