
भैरहवा,२७जेठ। रुपन्देही प्रहरीले कृत्रिम यौनाङ्ग (सेक्स टोय) सहित ट्रक नियन्त्रणमा लिएको छ ।
मंगलबार ओमसतिया गाउँपालिका-४ बाईपासस्थित चेकजाँच गर्ने क्रममा यूके १८ सिए २५७५ नम्बरको ट्रकमा माथिल्लो भागमा लुकाएर राखिएको २४ लाख ४५ हजार मूल्य बराबरको सेक्स टोय बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार ट्रकमा बिलबिजक बिना राजस्व छलेर भारत लैजाने क्रममा एक हजार तीन सय ६९ थान सेक्स टोय बरामद गरिएको हो ।
बिलबिजक नभएको सामग्री लुकाएर भारत लैजान थालेका ट्रकका चालक भारत उत्तर प्रदेशको बिजनौर जिल्लाका ४५ वर्षीय नसिब अहमद र भारतकै कन्नौज जिल्लाका २६ वर्षीय देवेन्द्रर कुमार सिंहलाई पक्राउ गरिएको उनले बताए।
नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीले जनाएको छ।
सेक्स टोयका लागि भारत ठूलो बजार हो। र, माग बढ्दो अवस्थामा छ। रिसर्च एण्ड मार्केट्सको स्रोतलाई उद्धृत गर्दै गत मार्च ७ तारिखमा ग्लोबन्यूज वायरमा प्रकाशित रिपोर्ट अनुसार सन् २०२४ मा भारतको सेक्स टोय बजार ११२.४५ मिलियन अमेरिकी डलर थियो भने सन् २०३० सम्ममा यो २६४.०७ मिलियन अमेरिकी डलर पुग्ने आंकलन गरिएको छ ।

