


काठमाडौं,१असार। व्यक्तिको गोप्य भीडियो खिचेर चरित्र हत्या र ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका-१ का २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिशेक कुमार श्रेष्ठका अनुसार पक्राउ परेका आरोपीहरुले एक व्यक्तिको अश्लील भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको छ।
आफूहरूले भने अनुसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको उजुरीको आधारमा आरोपीहरुलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

