


भैरहवा,९असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री उपलब्ध गराएको छ।
पालिकाले व्यवसायिक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाउ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका सामग्री ५० प्रतिशत अनुदानमा ३१ जनालाई उपलब्ध गराएको हो।

कृषकलाई आवेदनको आधारमा कृषि सामग्री उपलब्ध गराइएको नगरप्रमुख रामकृष्ण खाणले बताए। उनका अनुसार पालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठ सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको हो।
दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीको भनाई छ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई थप प्रोत्साहित गर्ने हुँदा पालिकाले यस्ता कार्यक्रमलाई विशेष जोड दिएको बताए।

