
भैरहवा,९असार। वर्षा सुरु भएसँगै लुम्बिनी प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च बनेको छ। पछिल्लो एक सातामा मात्र १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशभर हालसम्म संक्रमितको संख्या २४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विशेषगरी सहर क्षेत्रलाई प्रभावित बनाउँदै आएको डेंगु संक्रमण यसपटक झनै तीव्र रुपमा फैलिरहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्। डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टे थोरै पानी जम्मा भएको ठाउँमा हुर्कने भएकाले टायर, गमला, बाल्टिन जस्ता भाँडोहरुमा पानी जम्न नदिन विज्ञहरुले आग्रह गरेका छन्।



जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीका अनुसार, लामखुट्टेको टोकाइबाट फैलिने यो रोग नियन्त्रणमा स्थानीय तह चुकिरहेको छ। विशेषगरी सहरी क्षेत्रमा टायर जस्ता वस्तुमा पानी जम्दा डेंगुको लार्भा हुर्कने जोखिम अत्यधिक देखिन्छ।
डेंगु संक्रमण नियन्त्रणका लागि ‘सर्च एन्ड डेस्ट्रोय’ विधि प्रभावकारी मानिए पनि त्यसको कार्यान्वयनमा ढिलाइ भइरहेको बताइएको छ।
लुम्बिनी प्रदेशका स्थानीय सरकारहरुलाई संक्रमण नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई पनि सजग हुन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘गर्भवती महिला, बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धामा संक्रमणले गम्भीर असर पार्न सक्छ। त्यसैले सावधानी अत्यावश्यक छ।’
लुम्बिनी प्रदेशका नागरिकहरुलाई डेंगु संक्रमणविरुद्ध सतर्क रहनु र सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउनु अहिलेको अत्यावश्यकता भएको जनस्वास्थ्यविद्हरुको भनाइ छ।
‘लामखुट्टेलाई फुल पार्ने र लार्भा हुर्कनका लागि टायर उपयुक्त वातावरण बनेको छ। त्यसैले घर वरिपरि टायर, गमला, ड्रम, बाल्टिन वा अन्य कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. मरासिनी भन्छन्, ‘सधैं झुल टाँगेर सुत्ने बानी बसाल्नुपर्छ। खेतबारीमा काम गर्न जाँदा लामो बाहुला भएको लुगा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ। घरको झ्याल ढोकामा जाली हाल्नुपर्छ। सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मल्हमको पनि प्रयोग गर्न सकिन्छ।’