


काठमाडौं,१०असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो हप्ताभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्राविधिक समस्या नआएमा असार तेस्रो हप्ताभित्र नतिजा प्रकाशन हुने गरि काम भइरहेको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाले अंक इन्ट्री लगायतका काम तीव्र गतिमा भइरहेको र असार तेस्रो साता (२१-२२) गतेभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताए।

गत चैत ७ देखि १९ गतेसम्म (प्राविधिक धारसहित) सञ्चालित परीक्षापछि शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो।
गत चैत २० गतेदेखि २९ दिनसम्म चलेको आन्दोलन वैशाख १७ गते सहमति भएपछि रोकिएको परीक्षण कार्य पुनः सुरु भएको थियो। यही कारणले असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने सुरुको लक्ष्य प्रभावित भएको हो। एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए।

