


भैरहवा, ११ असार। रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट ल्याएको छ।
मंगलबार १७ औं गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बजेट प्रस्तुत गर्दै आन्तरिक आय १ करोड ९६ लाख १२ हजार ८ सय ८४ रुपैयाँ, संघीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार १ सय १६ रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड २३ लाख ९४ हजार, बैंक मौज्दात २ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरी जम्मा ५९ करोड १७ लाख अनुमान गरेको बताए।

पालिकाले शिक्षातर्फ ३ करोड, कार्यालय सञ्चालन र प्रशासनिक खर्चको लागि ९ करोड २५ लाख तथा स्वास्थ्य र कृषितर्फ १५-१५ लाख विनियोजन गरेको छ।
त्यस्तै गाउँपालिकाले नीति तथा कार्यक्रम पनि पारित गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आपसी संवाद, समन्वय, सहमति र सहकार्यमार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको बाटो अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा खेलकुद लगायतलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरे। सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको सुरुबाट नै कार्यान्वयन गर्न पहल गरिने र खर/फुसको छानामुक्त पालिका घोषणा गरिने पालिकाले नीति लिएको छ।
सीमान्तकृत विपन्न तथा गरीबहरुका लागि आयआर्जनसम्बन्धी सीपमूलक कार्यक्रम गरिने अध्यक्ष यादवले बताए। सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइ विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने कर्मचारीहरूलाई प्रोत्साहन गरिने नीति लिइएको उनले जनाए।
विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। सडक स्तरोन्नतिसँगै नाला निर्माण गरिने र रोहिणी वडा नम्बर १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिने उनले बताए।
रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरी कार्यान्वयनमा ल्याइने नीति लिएको छ। पालिकाभित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका बिरामीहरुको लागि निःशुल्क आधारभूत औषधी उपलब्ध गराउने र ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि) का र क वर्गका अपांगहरुका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्वारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिने यादवले बताए। बाल विवाहलाई निरुत्साहित गर्ने उद्देश्यले २० वर्ष पुगिसकेपछि विवाह गर्ने बालिकालाई प्रोत्साहन गर्न १० लाख विनियोजन गरिएको छ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा वडा सचिव राजकुमार मिश्राको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायतलाई सम्मान गरिएको थियो।

