
भैरहवा,१२असार। राजस्व अनुसन्धान कार्यालय, बुटवलले नवलपरासी (ब.सु.प.)को नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।
परासीको रामग्राम नगरपालिका–८ स्थित नवज्योति ट्रेडर्सले करमा दर्ता नगरी ५० लाखभन्दा बढीको करयोग्य वस्तु बिक्री गरेको अनुसन्धानबाट खुलेपछि कार्यालयले मुद्दा दायर गरेको हो। भारतबाट अवैध रुपमा भन्सार छलेर चामलका नाममा चिनी भित्र्याइएको पाइएको राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नवज्योति ट्रेडर्सका प्रोप्राइटर यादवमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार तीन करोड ४७ लाख ६२ हजार बिगो कायम गर्दै सोही ऐनको दफा २३ (१) बमोजिम सो रकम असुल उपर गरी शतप्रतिशत जरिवाना तथा हदसम्मको कैद सजाय माग गरिएको छ।
यस्तै उक्त कारोबारमा संलग्न आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मामाथि ११ लाख ७१ हजारको भन्सार चोरी बिगो कायम गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शर्मासहित हिक्मतप्रसाद आचार्य र विनोद थापामाथि समेत राजस्व चुहावटमा संलग्न रहेको भन्दै सम्बन्धित कानुनी दफाबमोजिम मुद्दा चलाइएको विभागले जनाएको छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (सं.स) को दफा ३ विपरीत र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकाले निज प्रतिवादी सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी–पैठारीतर्फको जम्मा बिगो तीन करोड ४७ लाख ६२ हजार ७५३ कायम गरी राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २३ (१) अनुसार निज प्रतिवादीबाट बिगो असुल उपर गरी शतप्रतिशत रकम जरिवाना हुन तथा सोही ऐनको दफा २३ (१) )ख) बमोजिम हदैसम्मको कैद सजाय हुन माग गरिएको छ।

