


सुनसरी,१२असार। नक्कली फेसबुक आइडी मार्फत ६२ लाख ७५ हजार रुपैयाँ ठगी गरेकोमा आरोपमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहता रहेको प्रहरीले जनाएको छ।
उनले ‘भानिदा सुवन’ नामक नक्कली फेसबुक आईडी बनाएर आफूलाई थाइल्याण्डको सिएम कमर्सियल बैंकका मेनेजर भएको झुटो परिचय दिँदै ठगी गर्दै आएका थिए।

प्रहरीका अनुसार मेहताले सामाजिक सञ्जालमार्फत पीडित कुर्मराज शाहीलाई ‘तपाईंको जात मिल्ने भएकाले विदेशमा रहेको अर्बौं रुपैयाँ तपाईंको नाममा ट्रान्सफर गर्न सक्छु’ भन्दै झुटो प्रलोभन देखाएका थिए। प्रलोभनमा परी पीडितले विभिन्न चरणमा गरी ६२ लाख ७५ हजार २०० मेहताको नाममा रहेको बैंक खातामा पठाएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले मेहताले झुटो विश्वास दिलाएर ठगी गरेको अनुसन्धानबाट खुलेको बताए। लामो समयदेखि फरार रहेका मेहतालाई प्रहरीले कोशी गाउँपालिका–८, भण्टाबारीस्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका मेहतालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि साइबर ब्यूरो काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

