


सिरहा,१३असार। सिरहा प्रहरीले ग्लोबल आइएमई बैंक शाखाको रकम लुटपाटमा संग्लन आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको प्रहरीले जनाएको छ।
गत २०७९ फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाका कर्मचारीलाई र सुरक्षामा खटिएका प्रहरीलाई चार जनाको समूहले पेस्तोल देखाएर नौ लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उक्त घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको हो।
पक्राउ परेका लोहनीलाई अदालतमा पेश गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

