


भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा रुपन्देहीको आठ स्थानीय तहका विद्यार्थीहरुमध्ये ८८ जनाले ४ जीपीए प्राप्त गरेका छन् ।
जिल्लामा १६ स्थानीय तह छन् । जसअनुसार अन्य आठ वटा पालिकामा ४ जीपीए ल्याउनेको संख्या शून्य रहेको छ ।

एसईई नतिजाको स्थानीय तहगत विवरण अनुसार बुटवल उपमहानगरपालिकाका ४६, तिलोत्तमा नगरपालिकाका २० सैनामैना नगरपालिका १०, सिद्धार्थनगर नगरपालिकाका तीन, सियारी गाउँपालिकाका तीन विद्यार्थीले चार जीपीए अंक प्राप्त गरेका छन् ।
त्यस्तै देवदह नगरपालिकाका दुई, शुद्धोधन गाउँपालिका दुई र कंचन गाउँपालिकाका एक जना गरी जिल्लामा कुल ८८ जना विद्यार्थीहरुले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले जनाएको छ ।
नतिजामा ४ जीपीए ल्याउन नसक्नेमा ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र गैडहवा गाउँपालिकाका रहेका छन् । जिल्लामा कुल १७ हजार ७ सय चार जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए ।

