


काठमाडौं,१६असार । पैसाका लागि कति सम्म के गर्ने ? सहज तरिकाले पैसा कमाउनका लागि रोज्ने भनेको अपराधकै बाटो हो । अपराधी जति चलाख भएपनि एक दिन कानुनको फन्दामा पर्ने नै हो । यस्तै एक जना व्यक्ति अहिले प्रहरी हिरासतमा छन्।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डीका २९ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ।

पसिना नबगाई पैसा कमाउनका लागि उनले महिलाको अश्लील फोटो/भिडियो बनाएर बेचेको आरोप छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपाल लगायतका देशमा रहेका नेपाली महिला तथा पुरुषहरुसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरुमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको पाइएको छ।
थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

