


दाङ, १६ असार। लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ। परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये ६२.३२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।
प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थीहरुले ग्रेड प्राप्त गरेका हुन्। जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जीपीए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जीपीए, १० हजार ४२ जनाले २.४ देखि २.८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जीपीए र २ जनाले १.६ देखि २ जीपीएसम्म ग्रेड ल्याएका छन् ।

एसईई परीक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये ४९ हजार २ सय २४ विद्यार्थीले ग्रेड प्राप्त नगरेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेण्डामा राखिएको बताए।
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउनेछ’, उनले भने ,‘हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’

