


काठमाडौं, १८ असार। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ६० अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। बजारमा तरलता (लगानी योग्य रकम) अधिक भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो निक्षेप खिच्न लागेको हो। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएकोले राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिच्दै आएको छ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। निक्षेपको यो निरन्तर वृद्धिलाई व्यवस्थापन गर्न अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो।

यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले जानकारी गराएअनुसार, आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज रकम २०८२ भदौ १८ गते भुक्तानी हुनेछ।
बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म (५ करोड रुपैयाँले निःशेष भाग जाने गरी) बोल गर्न सक्नेछन्। राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र यस बोलकबोलमा भाग लिन पाउनेछन्।
सामान्यतया २१ दिनका लागि बोलपत्र आह्वान गर्ने राष्ट्र बैंकले पछिल्लो समय भने बजारबाट लामो अवधिका लागि पैसा खिच्न थालेको छ।

