
भैरहवा, २१ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल उपलब्ध गराएको छ। गाउँपालिकाले शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल उपलब्ध गराएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार २०८१ सालको एसईई परीक्षामा पालिकाका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन्। उनले आगामी दिनमा पनि साईकल उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने बताए। ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल उपलब्ध गराइएको हो’, उनले भने ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उनले बताए । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजनले पालिका विद्यार्थीहरुको साथमा रहेको बताइन्। शिक्षा शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको बताए।
श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले गाउँपालिकाको कार्यक्रमले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताए।
एसईईमा ३ दशमलव ६६ जीपीए ल्याउने छिपागढ माविकी विद्यार्थी अस्मिता यादवले गाउँपालिकाले साईकल उपलब्ध गराएपछि आत्मबल बढेको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गरिन्। गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
एसईईमा छिपागढ माविबाट ३ दशमलव ६६ जीपीए ल्याउने अस्मिता यादव गाउँपालिका प्रथम र पिपरहवा माविमा अध्यनरत साधना यादवले ३ दशमलव ६५ जीपीए प्राप्त गरेका छन्।

