


दाङ,२२असार। प्रहरीले पाटे बाघको छाला (ओखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–१, गुरुङखोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका–४, पदनाहका ३३ वर्षीय अनिल थारु र गढवा गाउँपालिका–६,खवरीका ४१ वर्षीय बिक्रम बुढामगर रहेको प्रहरीले जनाएको छ।

दाङको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ परेका बुढामगरको घरमा लुकाएर राखिएको बाघको छाला बरामद गरेको हो।
बरामद छालाको लम्बाइ शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च र चौडाइ ३ फिट २ इञ्च रहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

