


विराटनगर,२२असार। प्रहरीले मोरङको रंगेलीबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५४ वर्षीय कृत्यानन्द ठाकुर, ३० वर्षीय सुशील बुढाथोकी र भारत अररिया जिल्लाको कुर्शाकट्टाको ५० वर्षीय हसिना भन्ने बिजली खातुन रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ठाकुर सोही वडाका डिल्लीराम श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएका थिए।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंसहितको टोलीले १ राउण्ड हवाई फायर गरेर रंगेली नगरपालिका-८ मा स्थित डिल्लीराम श्रेष्ठको घरबाट ३ जनालाई पक्राउ गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेका ठाकुरको डेराबाट ४ सय २५ ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु, नगद १ लाख २१ हजार र ४ वटा आइफोन बरामद भएको छ।

