


काठमाडौं, २६ असार। जल तथा मौसम विज्ञान विभागले गत मंगलबार रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी हिमताल विस्फोटका कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ। विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल ताल (हिमनदीको सतहमा बन्ने ताल) फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन्।

पराजुलीका अनुसार, रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) मा ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा एउटा सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ, उनले भने, उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ। बाढीको घटना हुनु पूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ।
बाढीपूर्व र बाढीपछिको तालको क्षेत्रफलमा आएको यो परिवर्तनले तालबाट पानी निकास भएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको अध्ययनले देखाएको छ।
यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पराजुलीले बताए। साथै, आगामी दिनमा भू(उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले यसलाई थप पुष्टि गर्न सक्नेछ। जल तथा मौसम विज्ञान विभागले यस विषयमा निरन्तर अध्ययन जारी राख्ने उनको भनाइ छ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन्।

