
भैरहवा,२६ असार। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ। नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख उमा अधिकारिले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को बजेट पारित भएको हो।
पालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको छ। जसमध्ये ४४ दशमलव ४ प्रतिशत चालू तर्फ र ५५ दशमलव ६ प्रतिशत पूँजीगत तर्फ बिनियोजन गरिएको छ।
Advertisement

Advertisement
Advertisement

अगामी वर्षमा महात्मा गौतमबुद्व कप संचालनमा ल्याउनका लागि समेत बजेट छुट्ट्याइएको छ। नगर प्रमुख खाँले बिगत देखि हुँदै आएको मेयर कपको नाम परिवर्तन गरेर सिद्धार्थनगर कप बनाएका छन्। तर, उपप्रमुख उमा अधिकारीको पदसँग जोडिएको उपप्रमुख कोसेली, उपप्रमुख खेलकुद प्रतियोगिताहरुको नाम यथावत राखिएको छ।
आगामी आर्थिक बर्षको लागि क्षेत्र गतरुपमा पूर्वाधार तर्फ ६९ करोड ७ लाख, आर्थिक बिकासतर्फ १ करोड १६ लाख, सामाजिक बिकास तर्फ ३२ करोड ७२ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड, प्रशासनिक सुशासन सेवा प्रवाहतर्फ ३० करोड ८७ लाख बजेट बिनियोजन गरिएको पालिकाले जनाएको छ।
बजेटमा नगरबासीको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुने, नगरपालिका भित्रको उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने, डिजिटल र ग्रिन क्लिन इको फ्रेन्ड्ली नगरपालिकाको रुपमा विकास गर्ने, युवालाई नगरभित्रै आर्थिक गतिविधिमा आबद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जगेर्ना गर्ने तथा स्रोत र साधनको मितव्ययी, प्रभावकारी एवम् परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको बताइएको छ।
त्यस्तै बजेटमा सुशासन र संस्थागत सुदृढीकरण, सामाजिक समावेशिता र मानव विकास, पूर्वाधार र वातावरणीय सुधार, आर्थिक समृद्धि र रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता विषयलाइ प्राथमिकतामा राखिएको छ। नगर सभाले कर तथा गैरकर राजश्व लगाउने र उठाउने विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ निर्माण व्यवसाय ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक २०८२ र प्राविधिक कर्मचारी करारमा व्यवस्था गर्ने ऐन, २०८१ मा संशोधन गर्न बनेको विधेयक २०८२ पनि पारित भएको नगरपालिकाको कार्यालयले जनाएको छ।

