
भैरहवा,३०असार। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्मित बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमति दिएको छ। यस सहमतिसँगै अब तिलोत्तमा नगरपालिकालाई भ्यु टावरमा आफ्नै लगानीमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ।
सुरुमा लागत साझेदारीमा निर्माण गर्ने सहमति भए पनि मन्त्रालयबाट बजेट उपलब्ध नभएपछि काम रोकिएको थियो। लागत साझेदारी भएको परियोजनामा नगरपालिकाले एक्लै लगानी गर्दा कानुनी समस्या आउन सक्ने भएकाले नगरपालिकाले मन्त्रालयको सहमति खोजेको थियो। मन्त्रालयले असार २९ गते सचिवस्तरीय निर्णयबाट सहमति दिएपछि टावरमा पर्यटकीय पूर्वाधार बनाउने बाटो खुलेको हो।
Advertisement

Advertisement
Advertisement

नगर प्रमुख रामकृष्ण खाँणका अनुसार, तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा टावर परिसरमा पूर्वाधार निर्माणका लागि १ करोड खर्च गरिसकेको छ भने आगामी आर्थिक वर्षका लागि थप १ करोड विनियोजन गरेको छ। नगरको गौरवको आयोजनाका रुपमा रहेको यो भ्यु टावर सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै रोजगारी सिर्जना र नगरपालिकालाई आर्थिक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
वडा अध्यक्ष फर्शुराम गिरीले टावर सञ्चालनमा आएसँगै वनवाटिकाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने र नगरपालिकालाई नियमित आम्दानीको स्रोत बन्ने बताए। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आगामी आर्थिक वर्षमा बाँकी संरचनाहरु निर्माण गरी टावर सञ्चालनमा ल्याउन अब सहज भएको बताए।
झण्डै ९ करोड लागतमा बनेको टावर सञ्चालनमा नआउँदा सर्वत्र आलोचना भैरहँदा मन्त्रालयले नगरपालिकालाई सहमति प्रदान गरेको हो। मन्त्रालयको सहमतिले अब तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणका काम आफैं गर्न सक्ने कानुनी आधार मिलेको छ।

