


काठमाडौं,३०असार। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकका व्यक्तिहरुको सहभागिताका विषयमा छानबिन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यस विषयमा छानबिन गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को-को गए ? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमणमा गए ? जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ।’

यस विषयको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछन्। गृहमन्त्री लेखकले दोषी देखिएकाहरुलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। यस भ्रमणका क्रममा सरकारी प्रतिनिधी मण्डल बाहेक अन्य व्यक्तिहरुको समेत अनधिकृत सहभागिता रहेको भन्दै प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनको निर्देशन दिएका हुन्।

