


काठमाडौं,३१असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपाने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्धारा जारी विज्ञप्तिमा न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको उल्लेख छ।
मन्त्री राजकुमार गुप्ता घुस डिल विवादमा मुछिएपछि मंगलबार बिहान उनले पदबाट राजीनामा दिएका थिए। लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् ।
न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभा सदस्यको रुपमा उनको कार्यकाल आगामी २० फागुनसम्म छ ।

