


जनकपुर,३२असार। धनुषा प्रहरीले पेस्तोल देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यको मधुवनीका २३ वर्षीय विजय मुखिया रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका मुखियाले गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका-१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद २ लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एक थान एप्पल कम्पनीको आईफोन १६ प्रो मोबाइल लुटपाट गरेका थिए।

लुटपाटमा प्रयोग भएको बिआर ३२ एवाई ३९३८ नम्बरको मोटरसाइकल सहित धनुषाको सबैला नगरपालिका-९ ठिल्लाबाट मुखियालाई पक्राउ गरिएको धनुषाका एसपी नरहरि रेग्मीले बताए।
उनका अनुसार मुखिया पेशेवर लुटेरा हुन् र भारतमा पनि उनीविरुद्ध ९/१० वटा मुद्दा दर्ता छन्। धनुषा प्रहरीले यस घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ। पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

