


भैरहवा,२ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले एक वर्षमा राजस्व छलीका १३ करोड १० लाख बढी रुपैयाँ बराबरको विभिन्न सामग्री बरामद गरेको छ ।
गत आर्थिक वर्ष ०८१/०८२ मा भारतबाट अवैध रुपमा भित्राइएको कपडा, मोबाइल, मदिरा, चिनी, कुखुरा, रासायनिक विषादी, मोटर पार्टस, पशु चौपाया, औषधी लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार, राजस्व अनुसन्धान कार्यालय, पशु तथा प्लान्ट क्वारेन्टाइन कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका एसपी मेखराज जोशीले बताए ।

उनका अनुसार, तस्करीका सामग्री ढुवानीमा प्रयोग भएका आठ वटा ट्रक मिनि ट्रक ट्याक्टर, कार भ्यान छोटा हात्ति १० वटा, अटो रिक्सा ५ वटा, मोटरसाइकल १७५ वटा र साईकल १० वटा गरी २०८ वटा सवारी साधनहरु नियन्त्रणमा नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाइएको छ ।
त्यस्तै सीमाबाट हुने अपराध नियन्त्रणका लागि मर्चवारी गाउँपालिका-७ मन्झरियास्थित बोर्डर आउट पोष्ट (बिओपी) मन्झरिया स्थापना गरिएको छ । मन्झरियामा बिओपी स्थापनासँगै जिल्लामा सीमासँग सम्बन्धित युनिटको संख्या ७ पुगेको छ ।
गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले बेलहियामा लागुऔषध तथा विष्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले परिचालन गरिएको डग स्क्वाडसहितको चेकजाँच प्रभावकारी देखिएको गणका डीएसपी एवं सूचना अधिकारी मोहन न्यौपाने बताए ।
यस्तै सशस्त्र प्रहरीले खैरो हिरोइन, गाँजा लगायतका लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि नेपाल प्रहरीले बुझाएको जनाएको छ ।
विद्यालय तथा समुदायमा विभिन्न विपद् सम्बन्धि १२८ वटा सचेतनामुलक कक्षाहरु संचालन गर्नुका साथै जिल्लाका अन्य सुरक्षा निकायहरु सहित विपद् उद्दारको ६ वटा सिमुलेश अभ्यासहरु गरिएको उनले बताए ।

