
नवलपरासी,४साउन । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार, भारी वर्षासँगै आएको पहिरो वा माटो खसेको कारण सडक अवरुद्ध भएको हो। सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि सडक घण्टौँसम्म अवरुद्ध भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो। १४ किलोमिटरको उक्त दाउन्ने खण्डमा गत आर्थिक वर्षमा पहिलेभन्दा धेरैपटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख जनक बन्जाराले बताए। वर्षामा लगातार पहिरो र हिलो तथा घाम लाग्दा खाल्डाखुल्डी र धुलोले यो खण्ड सधैँ समस्याग्रस्त रहने गरेको छ।
गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यातायात थप अस्तव्यस्त भएको थियो। तर, गत असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएपछि यो समस्या टरेको छ।
दाउन्ने सडकखण्ड विस्तारका लागि केही समय दिन र रातको निश्चित अवधिमा अत्यावश्यक बाहेकका सवारी साधनलाई रोक लगाइएको थियो। अहिले यस खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको छ।
नारायणगढ–बुटवल सडकखण्डको ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमा बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र दाउन्नेको १४ किलोमिटर खण्डमा ३ लेनको सडक विस्तार भइरहेको छ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । र, आगामी साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्नेछ।

