
काठमाडौं,८ साउन। नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको करिब पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।
गुह्येश्वरी नजिकै नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमती भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ ।
Advertisement

Advertisement
Advertisement

निगमले २०८४ मंसिरभित्र नयाँ अत्याधुनिक डिपो निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिहीबार आयल निगम सिनामंगललाई हस्तान्तरण गरेको छ। आगामी भदौ महिनाभित्रै टेन्डर आह्वान गर्ने तयारी रहेको निगमले जनाएको छ।
निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार, हालका डिपोहरु पुराना प्रविधिका छन् भने अब बन्ने नयाँ डिपो अत्याधुनिक हुनेछ। उनका अनुसार सरकारी इन्जिनियरहरुबाट पहिलो पटक ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ अनुमान गरिएको प्रोजेक्टको डीपीआर निर्धारित समय भित्रै बुझाउने काम भएको छ।
यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सघाउ पुग्नेछ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको बताए। उनले जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डीपीआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको बताए । उनले डीपीआर निर्माणको काम नेपालीहरुले राम्रोसँग गर्नसक्ने बताए।
उनले विगतमा नागरिक उड्डयन प्राधिकरणले जर्मनको हन्सा कन्सल्टबाट ५० करोडभन्दा बढी खर्च गरेर बनाएको डीपीआरको तुलनामा पुल्चोक इन्जिनियरिङ क्याम्पसले मात्र १ करोड ९८ लाखमा समयमै डीपीआर तयार पारेको उल्लेख गरे। यसले नेपाली व्यवसायी र इन्जिनियरहरुलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ।
नयाँ डिपो पूर्णरुपमा स्वचालित एल ३ स्तरको अटोमेसनयुक्त हुनेछ । प्रस्तावित योजना अनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ ।
यस्तै इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।
निगमका अनुसार डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १ सय किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ । यसबाहेक प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मतसम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै आवासीय तथा कार्यकक्ष समेत निर्माण गरिने जनाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय स्तरका मापदण्ड एपीआई, आईएसडीको पूर्णपालना गरिने निगमले जनाएको छ । गत आव मंसिरमा निर्माण कार्य सुरु गरी दुई वर्ष (२०८४ मंसिर) भित्र निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको डिपो प्रमुख यादवले जानकारी दिए ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले पनि निगमसँगको सम्झौता अनुसारै समयमै काम सम्पन्न गरी डीपीआर बुझाउन सफल भएको बताए।
हालको डिपो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको हुँदा यसले विमानस्थल र स्थानीय बासिन्दा दुवैलाई जोखिम बढाएको भन्दै आलोचना हुँदै आएको थियो। साथै, विमानस्थलको ट्याक्सी वे पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको गुनासो थियो। डीपीआर तयार भएसँगै अब आवश्यक प्रक्रिया तत्काल अघि बढाइने निगमले जनाएको छ।

