
दाङ,८साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको एक वर्षे उपलब्धि सार्वजनिक गरिएको छ।
राप्ती उपत्यका देउखुरी दाङमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रुपमा विकास हुँदै गएको बताए।
Advertisement

Advertisement
Advertisement

‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’उनले भने, ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ।’
उनले चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रुपमा कार्यान्वयन भएको, कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको गरिएको बताए।
सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताए। ‘जनताले मूल्यांकन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको छ। अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरु यसै अधिवेशनमा पेस गरेर पारित गरिने बताए।
मुख्यमन्त्री ड्यासबोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन
प्रदेश सरकारले मुख्यमन्त्री ड्यास बोर्ड स्थापना गरेको छ। मन्त्रालय र सरकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यास बोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।
यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रकाशन गरेको अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तकको मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरुपमा विमोचन गरे।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको शुभारम्भ गरे। मुख्यमन्त्री ड्यास बोर्ड र किसान एप प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो।

