


परासी,८साउन। गर्मी अत्याधिक बढेपछि पश्चिम नवलपरासीका रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकाले विद्यालयमा विदा दिएको छ। गर्मीका कारण पठनपाठनमा समस्या र बालबालिकाहरु स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लाको दुई पालिकाले विद्यालयमा विदा दिने निर्णय गरेका हुन्।
प्रतापपुरले शुक्रबारदेखि आइतबारसम्म र रामग्रामले शुक्रबार पालिकाका विद्यालयमा विदा दिएको छ।

बढ्दो गर्मीका कारण बालबालिकाका लागि मौसम प्रतिकूल बनेकोले बिदा दिने निर्णय गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए। उनका अनुसार मौसममा सुधार नदेखिए बिहानी कक्षा सञ्चालन गर्ने वा अन्य वैकल्पिक व्यवस्था गरेर पठनपाठन सुचारु गरिने बताए।
रामग्राम नगरपालिकाका अनुसार शनिबार बिदा रहेकोले आइतबार मौसमको अवस्था हेरेर विद्यालय सञ्चालनबारे निर्णय गरिनेछ। वर्षा नहुँदा यस क्षेत्रको जनजीवन प्रभावित भएका छ।

