


दार्चुला,८साउन। कृषक समूहका पदाधिकारीको मृत्यु भएको भन्दै कृषि अनुदान रकम लिनका लागि नक्कली विवरण पेश गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका प्रहरीले जनाएको छ। धामी मालिकार्जुन कृषक समूहका अध्यक्ष तथा शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्। उनीहरुले सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली विवरण पेश गरेका थिए।

पक्राउ परेका आरोपीहरुविरुद्ध लिखत सम्बन्धी कसुर, किर्ते र आपराधिक विश्वासघात मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए।
उनका अनुसार आरोपीहरुले ओखर पकेट क्षेत्र अन्तर्गत दुई लाख २० हजार रुपैयाँ अनुदान निकाल्नका लागि समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै बैंकमा हस्ताक्षर परिवर्तनको माग गर्दै किर्ते गरी पत्र पेस गरेका थिए।

