


काठमाडौं, ९ साउन । आजदेखि बौद्ध धर्मावलम्बीहरुको गुँला पर्व आजदेखि सुरु भएको छ। यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको बताइन्छ।

यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ। गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्दछन्। पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ ।
गुँला पर्वमा बौद्धमार्गीहरु दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको परिक्रमा गर्ने गर्दछन् । यस पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन वृद्धि भएको छ। जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायतका देवीदेवताको समेत परिक्रमा गर्ने प्रचलन छ।

