


सर्लाही, ९ साउन। सर्लाहीमा एक व्यक्तिले प्रहरी चेकिङमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउन खोज्दा कटुवा पेस्तोल देखिएपछि पक्राउ परेका छन्।
जिल्लाको मंगलवा नगरपालिका-८ स्थित प्रहरी चौकी गोरखकाली चेक पोष्ट अगाडीको चेकिङको क्रममा बीआर ३० ए १०७१ नम्बरको मोटरसाइकलमा सवार मंगलवा-६ का मोहन पासवानले मोबाइलमा लाइसेन्स देखाउन खोज्दा १२ वर्षीय छोराले पेस्तोल ताकेको फोटो देखिएपछि प्रहरीले उक्त हतियार बरामद गरेर दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मोहनले पेस्तोल आफ्नो नभई गाउँकै २३ वर्षीय रामहुलास पासवानको बताएपछि रामहुलासलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गर्दा कपडाले बेरिएको अवस्थामा राखिएको उक्त पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले बताए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

