


सिरहा,१० साउन। सिरहामा प्रहरीले गोली चलाएर लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पासवानले भारतबाट लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि एक राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी एवं प्रवक्ता बिरेन्द्र पासवानले जानकारी दिए।

उनका अनुसार पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको प्रहरीले जनाएको छ।

