


काठमाडौं, ११ साउन। नेपालमा धानचामलको आयातमा बढेको छ। जसका कारण अर्बौं रुपैयाँ विदेशिएको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा धानचामल आयात करिब दोब्बरले बढेको भन्सार विभागले जनाएको छ।
विभागको तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भएको २२ अर्ब २२ करोड रुपैयाँको आयातभन्दा निकै बढी हो।

आयातित वस्तुमध्ये धानको परिमाण सबैभन्दा धेरै छ। गत आर्थिक वर्षमा २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपैयाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा यो आँकडा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार रुपैयाँको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान थियो।
त्यस्तै, चामलको आयात पनि गत आर्थिक वर्षमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपैयाँको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँको ८ करोड ८७ लाख २३ हजार ५०६ केजी चामल आयात भएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, गत आर्थिक वर्षमा नेपालमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। तर, मुलुकलाई वार्षिक करिब ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्ने भएकाले वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ।

