


सुर्खेत, ११ साउन। सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। हत्याको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाका ४५ वर्षीय दानसिंह ठाडा मगरलाई पक्राउ गरेको छ।
बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंहले ४१ वर्षीया श्रीमती रविना थापा सुतेपछि खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका प्राराम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं प्रवक्ता मोहनजंग बुढाथापाले बताए।

हत्यापश्चात विदेशमा रहेका छोराछोरीहरुलाई फोन गरेर घटनाबारे सुनाएका थिए । उनको एउटा छोरा दुबईमा र एउटी छोरी जापानमा छन्। अर्की एउटी छोरी सुर्खेतमै छिन्।
त्यसपछि उनले प्रहरीको फोन माग्न वडाध्यक्षलाई फोन गरेका थिए। आफैले घटनाबारे जानकारी गराएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी बुढाथापाले बताए। घटनाको अनुसन्धान भइरहेकोले कारण अझै नखुलेको प्रहरीको भनाई छ।

