


बैतडी,१३ साउन। बैतडीको सिगास गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमी (सहायक नर्स मिडवाइफ) जानकी पूजाराले श्वाँस फेर्न नसकेको नवजात शिशुको ज्यान बचाएकी छन्।
गत साउन ८ गते रातिको समयमा स्थानीय लक्ष्मी धामीले शिशुलाई जन्म दिएकी थिइन् । तर, जन्मिएको शिशुले श्वाँस फेर्न नसकेपछि स्वास्थ्य उपकरणहरुको अभावका कारण तत्काले उनले आफैंले मुखमार्फत कृत्रिम श्वाँस दिँदै शिशुको ज्यान बचाएकी हुन्।

‘राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म लगातार मुखबाट श्वाँस दिएपछि शिशुको ज्यान जोगिएको’, उनले भनिन्, ‘त्यो बेलामा स्वास्थ्य केन्द्रमा एउटै एम्बु बेग थियो, त्यो पनि साइज नमिलेको। त्यसैले बाध्य भएर मुखै प्रयोग गरें।’
उनका अनुसार नवजात शिशुलाई जोगाउन अक्सिजन, सक्सन मेसिनजस्ता उपकरणहरु आवश्यक भएपनि आधारभूत स्वास्थ्य केन्द्रमा कुनै पनि उपकरण उपलब्ध थिएनन्।
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी पूजाराले जानकारी दिइन्। सुत्केरी भेटघाटका लागि आफू आइतबार लक्ष्मी धामीको घर पुगेको बताउँदै उनले भनिन्, ‘अहिले आमा र बच्चा दुवै सामान्य छन्। म आफैं पनि निकै खुसी छु।’
नवजात शिशुलाई बचाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी प्रशंसा भएको विषयमा उनले आफुले आफ्नो कर्तव्य पुरा गरेको र नवजात शिशुको ज्यान जोगाउन पाँउँदा खुशी लागेको सुनाइन् ।
उनले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आधारभूत उपकरणको चरम अभाव रहेकोप्रति चिन्ता व्यक्त गर्दै आवश्यक उपकरणहरु भएमा काम गर्न धेरै सहज हुने बताइन्।

