


काठमाडौं,१५ साउन। गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझमा कुटपिट गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको हो।

उनीसहित तीन जना पक्राउ परेका छन्। तीनै जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको छ।
विगतदेखि नै उनी अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्। ०८० सालको माघमा पनि ठमेलस्थित छायाँ सेन्टरको पार्किङमा गुरुङसहितको समूहले एक जनामाथि कुटपिट गरेको थियो । सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको थियो।
उनी त्यसभन्दा अगाडि २०८० सालको असारमा ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परी १० हजार धरौटीमा छुटेका थिए। उनको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो ।
सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन्। उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे। घैंटेको इन्काउन्टर पछि असुरक्षित मान्दै बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने गरेका गुरुङइलाई प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो।
प्रहरीका अनुसार गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

