


भैरहवा, १५ साउन। भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको आरोपमा प्रहरीले संस्थाको संचालक समितिका सदस्य रामहरी सिलवाललाई पनि पक्राउ गरेको छ।
सिलवालाई बिहिवार काठमाडौंमा पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। उनका अनुसार काठमाडौंमा पक्राउ परेका सिलवालाई रुपन्देही ल्याउने तयारी भईरहेको छ।

उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपछि रुपन्देही प्रहरीले खोजतलास सुरु गरेको थियो।
चितवनको राप्ती नगरपालिका–२ का सिलवाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का उपाध्यक्ष समेत रहेको बताईएको छ।
उक्त सहकारीको शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना भएपछि रुपन्देही प्रहरीले सहकारी ठगी मुद्दामा अनुसन्धान गरेको थियो।
बुधवार प्रहरीले सहकारी अध्यक्ष अशोक केसीलाई पनि भक्तपुरबाट पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरेको छ।

