


भैरहवा, १८ साउन। भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी अभियोगमा पक्राउ परेका संचालन समितिका सदस्य रामहरी सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
आइतबार जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पर्पूक्षको बहस पछि सिलवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए।

धरौटीमा रिहा भएका सिलवाल चितवनको नेकपा एमालेको राजनीतिमा सक्रिय छन् भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का उपाध्यक्ष समेत हुन्।
यस अघि शुक्रवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सहकारीका अध्यक्ष अशोक केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।
सहकारीको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना भएपछि प्रहरीले अनुसन्धान गरेर सहकारीका अध्यक्ष अशोक केसीसहित २३ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरेको छ।
रकम हिनामिना पश्चात फरार रहेका संस्थाका अध्यक्ष केसी र सिलवाललाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेर अदालतमा पेश गरेको थियो।

