


पोखरा,२४ साउन। कास्की प्रहरीले सुन र चाँदीसहित ११ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत, महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ परेकाहरुका साथबाट ६ किलो चार सय ग्राम सुन, ४ सय ४४ ग्राम चाँदी र पाँच लाख १४ हजार ६ सय ६५ रुपैयाँ बरामद भएको छ।
उनले पक्राउ परेका सबैजनालाई सुन चाँदीसहित आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने बताए।
प्रहरीका अनुसार कोलकाता र पश्चिम बङ्गालका उनीहरु लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रुपमा कार्य गर्दै आएका थिए।

